क्याबिन क्रूको आन्दोलनपछि इजीजेटका १०० भन्दा बढी उडान रद्द
बेलायती एयरलाइन्स कम्पनी इजीजेटले क्याबिन क्रूको आन्दोलनका कारण फ्रान्सका विमानस्थलबाट शनिबार र आइतबार सञ्चालन हुने १०० भन्दा बढी उडान रद्द गरेको छ।
उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै क्याबिन क्रू आन्दोलनमा उत्रिएपछि पेरिस, निस, बोर्डो र लियोनलगायतका विमानस्थलबाट हुने उडान प्रभावित भएका हुन्। इजीजेटका अनुसार फ्रान्समा कम्पनीका करिब ९०० क्याबिन क्रू कार्यरत छन्, जसमध्ये झण्डै आधा कर्मचारी आन्दोलनमा सहभागी हुनेछन्।
फ्रान्स इजीजेटको महत्वपूर्ण बजार हो। यात्रु सङ्ख्याका आधारमा फ्रान्समा इजीजेट एयर फ्रान्सपछि दोस्रो ठूलो एयरलाइन्स रहेको जनाइएको छ। कम्पनीले शुक्रबार पनि केही उडान रद्द भएको जनाएको छ।
प्रभावित यात्रुलाई वैकल्पिक उडान तथा मार्ग खोज्न सहयोग गरिरहेको इजीजेटले जनाएको छ।
क्याबिन क्रूको प्रतिनिधित्व गर्ने एसएनपिएनसी–एफओका प्रतिनिधि विलियम बोर्डनले कर्मचारीहरूले काममा स्थिरता चाहेको बताएका छन्। उनका अनुसार उडानका गन्तव्य र तालिकामा एक सातामै ५० देखि ६० पटकसम्म परिवर्तन हुने गरेको छ।
सम्बन्धित कर्मचारी सङ्गठनहरूले अगस्ट ७ देखि सेप्टेम्बर २ सम्म आन्दोलनको चेतावनी दिएका छन्। इजीजेटले व्यस्त पर्यटकीय समयमा आन्दोलन नगर्न कर्मचारीलाई आग्रह गर्दै काममा स्थिरता कायम गर्ने प्रस्तावसहित सेप्टेम्बरमा वार्ता गर्ने योजना अघि सारेको जनाएको छ।
यसअघि गत अप्रिलमा क्याबिन क्रूले गरेको आन्दोलनका कारण पनि इजीजेटका उडान प्रभावित भएका थिए।