कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्। उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार डा. कोइराला साउन २९ गते हुने भेलाको उद्घाटन समारोहमा सहभागी हुनेछन्।
थपलियाले उक्त भेला पार्टी विभाजनका लागि नभएको स्पष्ट पार्दै डा. कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने बताए।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने तयारी छ। भेलाको संयोजन नेता डा. शशांक कोइरालाले गर्नेछन्।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकनमा लगेपछि इतर समूह उत्साहित बनेको छ। यद्यपि, राष्ट्रिय भेलापछि पार्टी औपचारिक रूपमा विभाजित हुने हो कि भन्ने चिन्ता कार्यकर्तामा देखिएको छ।