एफएनजे ग्लोबल मिडिया सम्मेलनद्वारा ‘टोकियो घोषणापत्र’ जारी
काठमाडौं — नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित **‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’**ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, प्रवास पत्रकारिताको सुदृढीकरण र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गर्दै नौबुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित सम्मेलनमा नेपाल पत्रकार महासङ्घका पदाधिकारी, प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधि, वैदेशिक शाखाका पदाधिकारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
घोषणापत्रमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तथा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थालाई आग्रह गरिएको छ।
सम्मेलनले एआईसहित आधुनिक प्रविधिबाट उत्पन्न चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था बनाउन पनि जोड दिएको छ।
साथै, वैदेशिक शाखाका सदस्यलाई महासङ्घमा चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न विधान संशोधनको पहल गर्ने तथा विदेशमा कार्यरत नेपाली पत्रकारको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरिएको छ।