१५ दिनमा बाँकेमा एक किलोभन्दा बढी ब्राउन सुगर बरामद, १२ जना पक्राउ
बाँके प्रहरीले साउन महिनाको करिब १५ दिनको अवधिमा एक हजार ११ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जनाएको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले प्रयोगकर्ताबाट अनुसन्धान गर्दै कारोबारीको सञ्जालसम्म पुगेर कारबाही अघि बढाएको हो।
साउन १८ गते नेपालगञ्ज–४ बसपार्क क्षेत्रबाट ३० वर्षीय सुशील भण्डारीलाई ब्राउन सुगरसहित पक्राउ गरेपछि अनुसन्धानका क्रममा नेपालगञ्ज–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल पक्राउ परेका थिए। जयसवालको घरबाट ३८९.४५ ग्राम र उनको साथबाट १३६.८५० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनी यसअघि पनि लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
त्यसअघि साउन १६ गते नेपालगञ्ज–११ कटलियाबाट ३० वर्षीय सुरेश बर्मा र उनकी श्रीमती अनिता बर्मा ३८.७५० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।
साउन ६ गते प्रहरीले नेपालगञ्ज–१८ बाट ३९९.९ ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ गरेको थियो। त्यस्तै साउन ३ गते नेपालगञ्ज–११ बाट दाङका दुई युवालाई ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले प्रयोगकर्ताबाट सूचना संकलन गरी मुख्य कारोबारीसम्म पुग्ने रणनीतिअनुसार कारबाही भइरहेको बताए। प्रहरीले सीमा नाका प्रयोग गरी हुने लागुऔषध कारोबार नियन्त्रणमा कडाइ गरिएको जनाएको छ।