चीनमा आकस्मिक बाढीको कहर, मृत्यु हुनेको संख्या २५ पुग्यो
बेइजिङ — उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।
सरकारी सञ्चारमाध्यमका अनुसार जुलाई २६ मा पर्यटकका लागि लोकप्रिय सुवाङशिमेन सिनिक एरियामा अचानक बाढी पस्दा घटना भएको हो। प्रारम्भमा १० जनाको मृत्यु भएको बताइए पनि पछिल्लो अद्यावधिकमा मृतक संख्या २५ पुगेको पुष्टि गरिएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गरिरहेको छ। बाढीले पर्यटकीय क्षेत्रमा रहेका पाल र सवारीसाधन बगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
चीनमा यस वर्ष लगातार बाढी, पहिरो र आँधीका घटना भइरहेका छन्। यसअघि हुबेई, ग्वाङसी र गान्सु प्रान्तमा भएका प्राकृतिक विपद्मा पनि दर्जनौं मानिसले ज्यान गुमाएका थिए।