प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि बूढानीलकण्ठमा युवामाथि गोली प्रहार
काठमाडौं — प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि काठमाडौंमा एक युवालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरिएको हो।
प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार गएराति पक्राउ गर्न खोज्दा तामाङले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि तीन राउण्ड गोली चलाएको हो।
गोली लागेर घाइते भएका तामाङको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।