गोठाटारमा भीषण आगलागी, १४ वटा सटरमा क्षति
काठमाडौं — काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, गोठाटारस्थित पहेँलो पुल नजिकै शनिबार राति भएको भीषण आगलागीमा १४ वटा सटरमा क्षति पुगेको छ।
स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम तथा सटरहरूमा विद्युत् सर्ट भई राति करिब ९ः१५ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा सुरक्षाकर्मी परिचालन भएका थिए। करिब १७५ प्रहरी, ९ वटा दमकल र ३ वटा पानी ट्यांकरको सहयोगमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट विभिन्न व्यवसाय सञ्चालन भइरहेका १४ वटा सटरमा क्षति पुगेको छ। व्यवसायीहरूको ठूलो भौतिक सम्पत्ति जलेर नष्ट भए पनि क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।