विराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी
मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले विराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले बुधबार र बिहीबार दुई दिन लगाएर अनुगमन गरेको थियो ।
टोलीले विराटनगर–१५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पताल तथा मलाया रोडमा रहेका हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आँखा अस्पताल, इफ्रास आँखा अस्पताल र विराट रानी आँखा अस्पताल शिलबन्दी गरेको छ ।
यस्तै, मापदण्ड नपुगेको भन्दै टोलीले विराट आँखा अस्पतालको ल्याब (प्रयोगशाला) मा पनि शिलबन्दी गरेको छ । नियमअनुसार आँखा अस्पताल सञ्चालनका लागि कम्तीमा १०० शय्या हुनुपर्ने प्रावधान छ । तर, यहाँ शिलबन्दी गरिएका अस्पतालहरूले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट आँखा उपचार केन्द्रका रूपमा मात्र स्वीकृति लिएर जटिल किसिमका शल्यक्रिया (सर्जरी) समेत गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
प्रचलित व्यवस्थाअनुसार २०० शय्यासम्मको अस्पताल सञ्चालन अनुमति प्रदेश स्वास्थ्य मन्त्रालयले दिने गर्दछ । सामान्य उपचार केन्द्रको अनुमति स्वास्थ्य निर्देशनालयको कार्यक्षेत्रमा पर्छ भने २०० शय्याभन्दा माथिका र विशिष्टीकृत अस्पतालको अनुमति सङ्घीय स्वास्थ्य मन्त्रालयबाट लिनुपर्ने प्रावधान छ ।
यता अस्पताल प्रशासनले भने स्वास्थ्य निर्देशनालयबाट स्वीकृत लिएर विरामीलाई आँखाको स्वास्थ्य सेवा प्रदान गरेको बताउने गरेका छन् ।