मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने बताएका छन् ।
आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पताल पुगेका मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गर्दै नियमित रूपमा अस्पतालको अवस्थाबारे जानकारी लिने बताएका हुन् ।
मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत विभिन्न स्थानको अवलोकन गरेका थिए । उनले अस्पतालको सरसफाइ तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीसँग समेत भेटेर उनीहरूका समस्या र गुनासा सुनेका थिए । बिरामीहरूले उपचार सेवा, जनशक्ति तथा अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए ।
मुख्यमन्त्री भट्टको अस्पताल अनुगमनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्ने संकेत दिएको छ । सुदूरपश्चिममै सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ ।
अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा दिन अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी सेवा सञ्चालन हुँदै आएको छ ।
बिरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने बिरामीले प्रभावकारी सेवा पाउन समस्या भोग्दै आएका छन् । मुख्यमन्त्री भट्टले नियमित अनुगमन गर्ने घोषणा गरेसँगै अस्पतालको सेवा सुधार तथा व्यवस्थापनमा थप पहल हुने अपेक्षा गरिएको छ ।