अवैध कारोबार र कर छलीको आशंकामा देवनरा समूहमा प्रहरीको छापा
विराटनगर, १८ साउन — अवैध कारोबार तथा कर छलीको आशंकामा प्रहरीले विराटनगरस्थित चर्चित व्यापारिक घराना देवनरा समूहका घर तथा कार्यालयमा छापा मारेको छ।
प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजेदेखि समूहका विभिन्न घर तथा कार्यालयलाई घेराउ गरी खोजतलास सुरु गरेको हो।
मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको देवनरा समूहले बाबा आयल र हाइलाइफ चप्पल उद्योगसमेत सञ्चालन गर्दै आएको छ। समूहको नेतृत्व उद्योगी प्रकाश मुन्दडाले गरिरहेका छन्। उनी नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्।
प्रहरीले छापाका क्रममा आवश्यक कागजात तथा अन्य सामग्री नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि, छापा मार्नुको विस्तृत कारण, बरामद सामग्री तथा अनुसन्धानको अवस्थाबारे प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।