एलपी ग्यास बिक्री–वितरण व्यवस्थित बनाउन निगमको पहल, टेकुबाट पाँच कम्पनीका सिलिण्डर बिक्री सुरु
काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था गरेको छ।
निगमका अनुसार आजदेखि काठमाडौं उपत्यकामा नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ केजीका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म बिक्री–वितरण गरिनेछ।
निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा ग्यासको अभाव नभई आपूर्ति नियमित रहेको दाबी गरे। उनका अनुसार गत जुलाई महिनामा करिब ४९ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको थियो भने साउन १ गतेदेखि १५ गतेसम्म उद्योगीहरूले थप २६.५ हजार मेट्रिकटन ग्यास आयात गरिसकेका छन्।
उनले ७.१ केजीका सिलिण्डरबाट १४.२ केजीका सिलिण्डरमा उपभोक्ता ‘स्वीच’ हुँदा केही समयका लागि वितरणमा समस्या देखिएको बताउँदै बढीमा एक साताभित्र बिक्री–वितरण सहज हुने अपेक्षा व्यक्त गरे।
यद्यपि निगमले आपूर्ति नियमित रहेको दाबी गरे पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अधिकांश बिक्रेताले उद्योगबाट पर्याप्त ग्यास नआएको भन्दै उपभोक्तालाई नाम दर्ता गरेर फर्काइरहेका छन्।
काठमाडौंको बालाजुका स्थानीय नवराज पोखरेलले केही दिनदेखि ग्यास नपाएको बताए। उनका अनुसार पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भन्दै नाम दर्ता गर्न लगाइएको छ र ग्यास आएपछि घरमै पुर्याइदिने जानकारी दिइएको छ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित भइरहेको जनाउँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। साथै, बजारमा देखिएको गुनासोप्रति उद्योगीहरूको ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।
घरायसी उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर बिक्री–वितरण व्यवस्थित गर्न पनि निगमले बिक्रेतालाई अनुरोध गरेको छ। साथै, ग्यास नपाएमा निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।