बिदाको दिनमा पनि राहदानी बनाउनेको भीड
सार्वजनिक बिदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरूको भीड लागको हो ।
विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक बिदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ ।
विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरे पनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्र्याक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे । इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौँ आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ । उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए ।
आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिए पनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे ।
राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासि बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार पासपोर्ट अभाव नभए पनि प्रणालीमा प्राविधिक त्रुटि देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् ।
उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्य दिन (४८ कार्य घण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए । उनले इपिएस आवेदनका कारण दैनिक हजारौँ अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताए । प्राविधिक त्रुटि देखिएका फाइलमा भने थप एक कार्य दिन लाग्न सक्ने उनले जानकारी दिए । निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको बताए ।
उनका अनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भइसकेको उनले बताए । बञ्जाडेका अनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो ।
त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवेदन दिन पनि सेवाग्राहीलाई आग्रह गरे । उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए ।
विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उनले जानकारी दिए । तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन आग्रह गरे ।
विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरी वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
विभागका अनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।