नेपालमा बाघको संख्या ४२९ पुग्यो, नदी तटीय क्षेत्रमा बढी देखिए
काठमाडौं — नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्रमा बाघको संख्या बढी देखिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नदी तटीय क्षेत्रमा आहारा र अनुकूल बासस्थानका कारण बाघको उपस्थिति बढी देखिएको हो भने मानव गतिविधि बढी हुने क्षेत्रमा संख्या तुलनात्मक रूपमा कम पाइएको छ।
सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० बाघ रहेका छन्। यसअघि सन् २०२२ मा नेपालमा ३५५ बाघ थिए।
सर्वेक्षणमा बाघको आहारा प्रजातिमा चित्तल सबैभन्दा धेरै पाइएको छ। जरायो, बाह्रसिङ्गे, बँदेललगायत प्रजाति पनि प्रमुख आहाराका रूपमा देखिएका छन्।
विभागका अनुसार पछिल्लो गणनामा केही बाघ लामो दूरीसम्म चलायमान भएको पाइएको छ। चितवनको कसरादेखि पर्साको अमलेखगञ्जसम्म एक भाले बाघको लामो दूरीको गतिविधि देखिएको विभागले जनाएको छ।
संरक्षण विज्ञहरूले बाघको संख्या वृद्धि वासस्थान संरक्षण, चोरी–सिकार नियन्त्रण र आहारा प्रजातिको संरक्षणको सकारात्मक परिणाम भएको बताएका छन्। उनीहरूले अब मानव–बाघ सहअस्तित्व कायम गर्न समुदायको सहभागिता र द्वन्द्व न्यूनीकरणमा जोड दिनुपर्ने बताएका छन्।