पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा
पोखराका नगर बसहरू नियमित मर्मत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको छ । गण्डकी सरकारले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि यस्ता सवारी साधन बढी भएका कारण पोखराको प्रदूषण बढेको निष्कर्ष निकालेको छ ।
आइतबार यातायात व्यवस्था कार्यालय कास्कीले पोखराको न्यूरोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको छ । प्रदूषण परीक्षणमा क्रममा जाँच गरिएका सवारी साधनमध्ये १५ सवारी साधनले मापदण्ड भन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको छ ।
७० वटा सवारी साधनमा प्रदूषण परीक्षण गरिएको छ । परीक्षणमा असफल भएका सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएर मर्मत सम्भारका लागि पठाइएको कार्यालयले जनाएको छ ।
इन्जिनियर सुमन शर्माका अनुसार, त्यस्ता सवारीहरू मर्मतपछि कागजपत्र फिर्ता दिइने छ । ‘सबैको कागजात नियन्त्रणमा छ । उनीहरूलाई मर्मत गर्न निर्देशन दिइएको छ,’ उनले भने– ‘मर्मत गरेर आएपछि पुनः जाँच गरेर कागजपत्र फिर्ता गर्नेछौँ ।’
जेनजी आन्दोलनमा मेसिन जलेपछि प्रदूषण मापन रोकिएको थियो । केही समयअघि मात्रै मेसिन खरिद गरिएको छ । अहिले कार्यालयले नियमित मापन सुरु गरेको छ । लामो समयपछि प्रदूषण मापन भएकोले २ पटकका लागि कारबाही नगरिएको कार्यालय प्रमुख ढाका शर्माले बताए ।
अबदेखि भने मापदण्ड फेल भए कारबाही प्रक्रिया अघि बढ्नेछ । ‘अहिलेसम्म हामी कारबाहीमा उत्रिएका छैनौँ । अबदेखि चाहिँ सूचना निकालेर जरिवाना सुरु हुने छ,’ उनले भने । मापदण्ड पालना नगरेका यस्ता सवारी साधनलाई २ हजारदेखि २० हजारसम्म जरिवाना तोक्ने अधिकार छ ।