चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली
फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक झापा र इलामका कार्यक्रममा सहभागी हुन पुगेका छन्। ओली शनिबार झापाबाट इलामको फिक्कलतर्फ प्रस्थान गरेका हुन्।
इलामको फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासङ्घको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिए। उनका अनुसार ओली आज इलाममै बस्नेछन् र आइतबार झापामा हुने कार्यक्रममा सहभागी हुनेछन्।
आजको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ। ओलीले इलाममा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरु बराललगायतका नेताहरू पनि इलाम पुगेका छन्।
यसैबीच, एमालेले स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘मिसन जनजागरण अभियान’ को शुभारम्भ आइतबार झापाबाट गर्ने भएको छ। एमालेले उक्त अभियान देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने तयारी गरेको छ।
निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा र इलाम पुगेका ओली पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उत्साहित देखिएका छन्। अभियानमार्फत आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने एमालेको तयारी छ।