प्रहरी हिरासतमा सीसीटीभी क्यामेरा जडानकाे माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बिहीबार रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ शुक्रबारका लागि पेसी तोकिएको छ।
निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन्।
निवेदनमा रातको समयमा पनि स्पष्ट देखिने (नाइट भिजन), अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गर्न र उक्त फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेशको माग गरेको छ।
साथै पक्राउ परेको समयदेखि नै डिजिटल अभिलेख राख्ने गरी एकीकृत मापदण्ड निर्माण गर्न समेत माग गरिएकाे छ।