इँटा भट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा बुधबार बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
पर्खाल भत्किनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।