नेपाल एयरलाइन्सका दुई कर्मचारी विदेशी मुद्रासहित प्रहरीको नियन्त्रणमा
काठमाडौंबाट क्वालालम्पुर उड्न लागेका नेपाल एयरलाइन्समा कार्यरत दुई जना कर्मचारीलाई विदेशी मुद्रासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार राति करिब ९ः३० बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–४१५ मार्फत काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूको शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा शंकास्पद गतिविधिपछि गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट अमेरिकी डलर र मलेसियन रिङ्गेट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने नेपाल एयरलाइन्समा कार्यरत ५४ वर्षीय जननी वज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३ सय ७२ मलेसियन रिङ्गेट बरामद भएको छ ।
त्यस्तै, गोरखा नगरपालिका–३ की नेपाल एयरलाइन्समा कार्यरत ३५ वर्षीया ममता पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३ सय २८ मलेसियन रिङ्गेट बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद विदेशी मुद्रासहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।