कपिलवस्तुका पूर्वमेयर सिंह बेपत्ता
कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट शुक्रबार दिउँसोदेखि बेपत्ता भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको अवस्था अझै अज्ञात रहेको छ । सिंह चढ्ने लु प्र ०१०१३ नम्बरको मोटरसाइकल वन क्षेत्रमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरले शुक्रबार राति अबेरसम्म खोजी गर्दा पनि सिंह नभेटिएपछि आज बिहानैदेखि तालिमप्राप्त कुकुर परीचालन गरी खोजी कार्य भइरहेको जानकारी दिए ।
पूर्वमेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ ।
‘शुक्रबार पनि व्यावसायिक कामका लागि उहाँ त्यहाँ जानुभएको रहेछ । वन क्षेत्रमा बाटो बिराएपछि आफन्तलाई फोन गरी आफू वन क्षेत्रमै अलमलिएको जानकारी गराउनुभएको रहेछ’, प्रहरी निरीक्षक कुँवरले भने, ‘खोज्दै जाँदा उहाँ चढ्ने मोटरसाइकल भेटियो । तर, उहाँ अहिलेसम्म भेटिनुभएको छैन ।’
शुक्रबार साँझ करिब ६ बजेसम्म उनीसँग फोनमा कुरा भए पनि त्यसपछि भने सम्पर्क हुन सकेको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दासहितको टोलीले वन क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी जारी राखेका छन् । सिंह कसरी सम्पर्कविहीन भए भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।