नवनियुक्त उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल सेनाका नवनियुक्त उपरथी र प्राविधिक महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामै आयोजित एक विशेष समारोहका बिच प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका दुवै अधिकारीलाई दर्जा अनुसारको चिन्ह प्रदान गरेका हुन्।
गत २०८३ साउन २६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई प्रधान सेनापतिले दर्ज्यानी चिन्ह लगाएका छन्। सोही समारोहमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि सोही पदको दर्ज्यानी चिन्ह प्रदान गरियो।
उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा सेनाका बलाधिकृत, रथी र अन्य उच्च अधिकृतहरूको उपस्थिति थियो। साथै, पदोन्नति पाएका सैनिक अधिकारीका परिवारजनको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।