जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
चितवन — गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आईतसिंह लामा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बिहीबार बिहान करिब ३:१५ बजे आफ्नै घर नजिकबाट नियन्त्रणमा लिएको हो।
लामा एकसिंगे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्ति हुन्। अदालतले उनलाई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
सोही सजाय भुक्तान गरिरहेका बेला उनी भरतपुर कारागारमा रहेका थिए। आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।