पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प
लगातारको वर्षासँगै अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिने क्रम नरोकिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका ठप्प भएको छ। उत्तरी सीमाको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अवरुद्ध भएपछि दुई देशबीचको आयात–निर्यात प्रभावित हुनुका साथै सयौँ कन्टेनर सीमाका दुवैतर्फ रोकिएका छन्।
दारी (इको) क्षेत्रमा असार ३१ गते पहिरो गएर सडक भासिएपछि सडक सञ्जाल प्रभावित भएको हो। त्यस्तै, अरनिको राजमार्गको डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजारनजिक साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ। कोदारी, डाक्लाङ, घट्टेखोलालगायत क्षेत्रमा समेत पहिरो जाने क्रम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक अवरुद्ध हुँदा तातोपानी भन्सारबाट हुने आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले तातोपानी भन्सारका लागि २५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको छ।
‘सडक अवरुद्ध हुने क्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन,’ गिरीले भने, ‘दुई देशबीचको व्यापारमा मात्र होइन, आवतजावतमा समेत कठिनाइ भएको छ।’
भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहिरोको जोखिममा छ। माथिबाट निरन्तर पहिरो झर्ने गरेका कारण बन्दरगाहको सञ्चालनसमेत प्रभावित भएको छ।
भन्सार कार्यालयका अनुसार दसैँ–तिहार लक्षित सामान, स्याउ, लसुनलगायत फलफूल तथा विभिन्न उद्योग र निर्माण आयोजनाका सामग्री बोकेका करिब ५०० कन्टेनर चीनतर्फ सिगात्से, ल्हासा र न्यालमलगायत क्षेत्रमा रोकिएका छन्। नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब २० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामान रोकिएका छन्।
सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी, मजदुर तथा ढुवानी क्षेत्रमा काम गर्नेहरू प्रत्यक्ष प्रभावित भएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यापार ठप्प हुँदा व्यवसायीहरू ठूलो समस्यामा परेका छन्। व्यवसायीसँगै करिब ६४० मजदुर तथा ट्रान्सपोर्ट र भन्सारसम्बन्धी काम गर्ने करिब ३०० कामदारको रोजगारीसमेत प्रभावित भएको छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत व्यापारिक सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, ब्याग, जुत्ता–चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गारका सामग्री, बीउबिजन, विद्युतीय सवारीसाधन, कम्प्युटर पार्टस् तथा उद्योगका कच्चा पदार्थलगायत वस्तु आयात हुँदै आएका छन्।
हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले नेपाली बजारमा प्रयोग हुने ठूलो परिमाणका उपभोग्य वस्तु चीनबाट आयात हुने भए पनि नाका सञ्चालनलाई सहज बनाउन सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरे।
‘नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ,’ उनले भने, ‘तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन। यसबाट व्यवसायी मारमा परेका छन्।’
वर्षायाममा हरेक वर्ष अरनिको राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिँदै आएको व्यवसायीहरूको भनाइ छ। गत वर्ष पनि असारदेखि असोजसम्म सोही क्षेत्रमा सडक अवरुद्ध हुँदा दसैँ–तिहारका लागि आयात गरिएका सामान नेपाल भित्रिन सकेका थिएनन्।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले डाक्लाङ, घट्टेखोला र इको पहिरोका कारण आवतजावत कठिन भएको बताए।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले इको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु हुन नसक्दा समस्या झन् जटिल बनेको बताए। उनका अनुसार इको क्षेत्रमा जमिन नै भासिएकाले सामान्य रूपमा मेसिन र जनशक्ति परिचालन गरेर तत्काल सडक सञ्चालन गर्न कठिन छ।
इको पहिरोमाथि रहेको कोदारी थामी गाउँमा करिब ६० परिवार बसोबास गर्छन्। जमिन भासिँदै जाँदा बस्तीसमेत जोखिममा परेको गाउँपालिकाले जनाएको छ। त्यस्तै, चारकिलोको पहिरोमाथि रहेको पन्थली गाउँका ५० भन्दा बढी घरसमेत जोखिममा छन्। ठूला मेसिनको प्रयोग गर्दा बस्तीमा थप जोखिम हुन सक्ने स्थानीयको भनाइ छ।
भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक बगाउने समस्या दोहोरिने गरेको बताए। ‘जब वर्षा लाग्छ, पहिरो जान्छ अनि मात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नुपरेको छ,’ उनले भने।
वर्षायाम सुरु भएसँगै पहिरो नियन्त्रण र सडकको दीर्घकालीन व्यवस्थापनमा काम हुन नसक्दा नेपाल–चीन व्यापारको महत्वपूर्ण नाका हरेक वर्ष जोखिममा पर्दै आएको छ। यसपटक पनि सडक अवरुद्ध भएपछि चाडपर्व लक्षित आयात व्यापारसँगै सरकारको राजस्व सङ्कलनसमेत प्रभावित हुने देखिएको छ।