ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ विरुद्ध नेपाल मेडिकल काउन्सिलको कारबाही
ठमेलमा सञ्चालित 'एसटीडी ट्रिटमेन्ट क्लिनिक' विरुद्ध प्राप्त उजुरीका आधारमा नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलद्वारा गठित छानबिन टोलीको प्रतिवेदन तथा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम उक्त क्लिनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कारबाही सुरु गरिएको हो।
म्याद सकिएको लाइसेन्स प्रयोग गरी कार्यक्षेत्र बाहिर गई उपचार गर्ने तथा काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी भ्रम सिर्जना गर्ने चिकित्सकहरूलाई स्पष्टीकरण माग गर्दै कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ।
साथै, एकजना विदेशी चिकित्सकको शैक्षिक योग्यता, अर्का चिकित्सकको तालिम प्रमाणपत्रको आधिकारिकता अध्ययन भइरहेको छ भने दर्ता/इजाजतपत्र बिना कार्यरत स्वास्थ्य सहायक लगायतका स्वास्थ्यकर्मीहरूलाई कारबाहीका लागि सम्बन्धित विषयगत परिषद्हरूमा सिफारिस गरिएको छ।
यसैगरी, स्वीकृति बिना गैरकानुनी रूपमा सञ्चालित उक्त 'एसटीडी ट्रिटमेन्ट क्लिनिक' लाई तत्काल सिलबन्दी गरी बन्द गराउन र यसका डिजिटल तथा मेडिकल रेकर्डहरू नियन्त्रणमा लिन सम्बन्धित निकायमा सिफारिस गरिएको छ। साथै गैरकानुनी रूपमा सञ्चालित फार्मेसी र औषधिको स्रोतबारे विस्तृत अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा पत्राचार गरिएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार जनस्वास्थ्यको संरक्षण, चिकित्सकीय मर्यादा रक्षा तथा गैरकानुनी स्वास्थ्य सेवाविरुद्ध काउन्सिल कारबाही गर्न प्रतिबद्ध रहेको छ।