विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौं — नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ।
सोमबार बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौं आएको निगमको जहाजमा सवार दुई कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे। उनका अनुसार उनीहरूले नेपाल ल्याउन पाउने सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको देखिएपछि नियन्त्रणमा लिइएको हो।
‘५ हजार डलरसम्म ल्याउन पाइने हो। लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं,’ एसपी सिलवालले भने, ‘हामी थप विवरण बुझ्दैछौं। केहीबेरमा यसको विवरण दिन्छौं।’
प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय भने सार्वजनिक गरेको छैन। उनीहरूमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानपछि विदेशी मुद्राको परिमाण र उनीहरूमाथि हुने कानुनी कारबाहीबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।