भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय प्रधानसेनापति धीरज सेठ चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न ४ बजे काठमाडौं आउँदै छन्।
भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।
यस्तै, सोमबार नै नेपाली र भारतीय प्रधानसेनापतिबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको सैन्य सहकार्य, तालिम, संयुक्त अभ्यास तथा अनुभव आदानप्रदानलगायत विषयमा छलफल हुने बताइएको छ।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी दिने परम्परा सन् १९५० देखि सुरु भएको हो।
यस परम्परालाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र दुई देशका सेनाबीचको विशेष सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।