बानेश्वरबाट सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न आरोपमा तीन जना पक्राउ
अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले 1xBet एपमार्फत सट्टेबाजी गर्ने–गराउने गरेको र ठूलो परिमाणमा USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूको कारोबार विवरणमा ७९ हजार ६८ दशमलव ६५ USDT, नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ USDT, नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३६ रुपैयाँ बराबरको अभौतिक मुद्रा मौज्दातसमेत फेला परेको छ।
यसैगरी, उनीहरूले 1xBet मार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद गरेको छ।
उनीहरूमाथि सट्टेबाजी गर्न–गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।