उपचाररत नेता थपलियालाई भेट्न महासचिव पोखरेल पुगे वीर अस्पतालमा
पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई भेट्न एमाले महासचिव शंकर पोखरेल वीर अस्पताल पुगेका छन् । अध्यक्ष ओली र पार्टी सचिव महेश बस्नेतले गुन्डुमा डाकेर थपलियालाई प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिन चर्को दबाब दिएका थिए ।
उनी गत सोमबार साँझ गुन्डुस्थित अध्यक्ष ओली निवासमा बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई त्यही रात भक्तपुरको मध्यपुर थिमी अस्पतालमा उपचारपछि त्रिपुरेश्वरस्थित होटलमा लगिएको थियो ।
गत मंगलबार दिउँसोदेखि भने उनलाई वीर अस्पतालमा उपचारका लागि राखिएको छ । थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । थपलियाको अवस्था बुझ्न महासचिव पोखरेल वीर अस्पताल पुगेका हुन् ।