मनसुनजन्य विपद्मा पछिल्लो २४ घण्टामा एकको मृत्यु, २० घाइते
काठमाडौं — मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जनावर आक्रमणका ३ घटना भएका छन्। सर्पले डसेर एक जनाको मृत्यु भएको हो।
विपद्का घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ वटा चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि शनिबार बिहानसम्म देशभर ४ हजार ५३ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २९१ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार हालसम्म विपद्बाट ५ हजार १८८ परिवार प्रभावित भएका छन्।