रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
काठमाडौं । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट भीषण आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फसेको आशंका गरिएको छ भने आँगनमा आगलागी भएको छ।
यस्तै, शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किएको छ। त्यहाँ पनि केही व्यक्ति फसेको आशंका गरिएको छ। राजधानीको डार्नित्स्की जिल्लासहित अन्य क्षेत्रमा गोदाम भवनमा आगलागी भएको अधिकारीहरूले बताएका छन्।
यसअघि दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए। सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको जनाइएको थियो।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको निरन्तर हवाई आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरेका छन्।
शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीका क्रममा जेलेन्स्कीले यसै साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताएका थिए।
“रुसी हवाई आक्रमण निरन्तर भइरहेका छन्। विशेष गरी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि इन्टरसेप्टर प्राप्त गर्नु हाम्रो उच्च प्राथमिकता हो,” जेलेन्स्कीले टेलिग्राममार्फत बताएका छन्।
गत जुलाईमा अङ्कारामा सम्पन्न नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने संकेत दिएका थिए। तर शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले यसबारे अन्तिम निर्णय भइनसकेको बताएका छन्।