न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना, ६ जना घाइते
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको छ।
मंगलबार बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो। दुर्घटनामा मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाका बेला गाडीमा मुख्य न्यायाधीश डाँगी र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ। दुर्घटनाको थप विवरण तथा कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।