गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० देखि बेलुका ७ बजेसम्म आवतजावत खुला
सिरहा — जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्युलाई खुकुलो बनाएको छ।
आइतबार जारी सूचनाअनुसार गोलबजार क्षेत्रमा अब बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो रहनेछ। प्रशासनले स्थानीय अवस्थाको थप विश्लेषणपछि कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः निर्णय गरिने जनाएको छ।
कर्फ्यु खुकुलो भएको समयमा गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारी साधनलाई आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ।
यद्यपि, शान्ति सुरक्षा कायम राख्न कर्फ्यु खुकुलो भएको अवधिमा पनि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने जिल्ला प्रशासन कार्यालयले सूचित गरेको छ।