हमासको सहमतिपछि पनि गाजामा इजरायली आक्रमण जारी, ८ जनाको मृत्यु
गाजा — युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण रोकिएको छैन। शनिबार रातभर भएका आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराम योजनामा सहमति जनाएको जनाएको थियो। उक्त योजनामा हतियार हस्तान्तरण र गाजाबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन्।
यद्यपि, इजरायलले योजनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको पूर्ण निःशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने जनाएको छ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरूलाई निशाना बनाइएको थियो। मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकोप्टरको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा केही व्यक्ति घाइते भएको जनाइएको छ।
त्यस्तै, गाजा सहरको पश्चिमी क्षेत्रमा भएको अर्को आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ। दक्षिणी गाजाको खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा पनि आठ जनाको मृत्यु भएको थियो। ती घटनामा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन्।