तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द
कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो ।
पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालले सेवा बन्द गरेको पुष्टि गरे । गत शुक्रबार दिउँसो अस्पतालभित्रै मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।
आफ्नो ड्युटीमा खटिएका चिकित्सक र नर्सहरू माथि गत साउन २२ गते शुक्रबार दिउँसो र त्यही दिन बेलुकी क्वाटरमा नै गएर दोहोर्याएर कुटपिट गरेको घटना बाहिर आएको थियो ।
स्थानीय मैना बमका छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । स्वास्थ्य सेवा प्रभावित हुने भन्दै मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरे ।
त्यसपछि विवाद सुरु भएको थियो । सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा कार्यरत एक नर्सले भनिन्– ‘पहिले हाम्रो क्वार्टर उहाँहरुकोमा थियो । व्यवस्थापन समितिको सल्लाह अनुसार क्वार्टर अस्पतालभित्र सरेको थियो । साउन १५ मा क्वार्टर सरेदेखि निरन्तर गाली भइरहेको थियो । हामी सहेर बसेका थियौँ । वाइफाई चलाउन नदिएको वाहनमा हामी माथि आक्रमण भयो ।’
उनले आफूमाथि धेरै दिनदेखि मैना बमको परिवारबाट मानसिक तनाव भइरहेको बताइन् । नर्सले भनिन्- ‘हामीमाथि अपशब्द पनि बोलियो । हामीलाई देखेपछि गाली गर्ने, बाहिर निस्केको देखेपछि पनि गाली गर्नुहुन्थ्यो । मेरो यो जग्गा हो । यो बाटो हिँडिस् भने राम्रो हुनेछैन भन्नुहुन्थ्यो ।’
पालिकाका स्वास्थ्य संयोजक न्यौपानेले भोलि सोमबार घटनाको मुचुल्का गरिने र त्यसपछि सर्वपक्षीय छलफल गरेर समस्याको निकास निकालिने बताए । न्यौपानेले रातोपाटीसँग भने, ‘डा.अली हैदर रैनल कालिकोट सदरमुकाम मान्मा जानुभएको छ । उहाँ र नर्सको मुख्य माग न्याय चाहियो भन्ने हो । भोलि जनप्रतिनिधिसहितको बैठक बस्छ ।’ अस्पताल तोडफोडपछि मेडिकल उपकरणमा क्षति पुगेको छ ।