वस्तु तथा सेवा खरिद–बिक्रीमा अनिवार्य बिल लिन–दिन राजस्व विभागको आग्रह
आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। कर अनुपालन बढाउन र वास्तविक कारोबारलाई कर प्रणालीमा समेट्न विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
विभागका अनुसार सामान वा सेवा खरिद गर्दा उपभोक्ताले बिल माग्ने र व्यवसायीले अनिवार्य रूपमा बिक्री बिल जारी गर्ने व्यवस्था कानुनमै रहेको छ। यसले कारोबारको सही अभिलेख राख्न सहयोग गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने विभागले जनाएको छ।
विभागले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिरहेको ‘उपहार कार्यक्रम’ मा सहभागी हुन पनि उपभोक्तालाई आग्रह गरेको छ। उक्त कार्यक्रममा सहभागी भई पुरस्कार दाबी गर्न खरिद बिल आवश्यक पर्ने भएकाले सामान वा सेवा लिँदा बिल अनिवार्य लिन विभागले अनुरोध गरेको हो।
यस्तै, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएर कर प्रणालीमा आबद्ध हुन विभागले आग्रह गरेको छ। बिक्री गर्दा उपभोक्तालाई अनिवार्य बिक्री बिल उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था पालना गर्न पनि विभागले सचेत गराएको छ।
बिल लिने–दिने संस्कृतिको विकासले वास्तविक कारोबारको अभिलेख सुरक्षित हुने र स्वेच्छिक कर अनुपालनको वातावरण निर्माण हुने विभागको विश्वास छ।