निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री पुनको प्रतिबद्धता
काठमाडौं — विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही निर्मल पुर्जाको सम्मान र स्मृतिमा सम्झनयोग्य ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पुर्जाप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई पुर्जाले पुर्याएको योगदानको स्मरण गरेका हुन्।
मन्त्री पुनले प्रतिनिधिसभा निर्वाचनको नतिजापछि पुर्जा राष्ट्रिय आविष्कार केन्द्रमा आएर बधाई दिएको र आफूलाई हस्ताक्षरसहितको पुस्तक उपहार दिएको प्रसङ्ग उल्लेख गरेका छन्।
उनले उक्त पुस्तकको तस्बिर राखेर श्रद्धाञ्जली दिन खोजे पनि पुस्तक फेला पार्न नसकेको बताएका छन्। आविष्कार केन्द्रका साथीहरूले पढ्न लगेका वा शुभेच्छुकले लगेका हुन सक्ने भन्दै उनले कुनै दिन भेटिने आशा व्यक्त गरेका छन्।
पुर्जाले विगतदेखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई विभिन्न समयमा सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री पुनले उनको योगदानको सम्मानमा विशेष काम गर्ने प्रयास गर्ने बताएका छन्।
उनले सोही दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतारोहीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।