काठमाडौँमा ७ जना अपहरणकारी पक्राउ
झापा शिवसताक्षी नगरपालिका–१० माईधार घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायालाई अपहरण गरी बन्धक बनाउने र १८ लाख रुपैयाँ फिरौती माग्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गत साउन २८ गते अपरिचित ५र६ जनाको समूहले रायालाई अपहरण गरी, बन्धक बनाई कुटपिट गर्नुका साथै उनका परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको गोप्य सूचना प्रहरी कार्यालयमा प्राप्त भएको थियो।
सूचना लगत्तै खटिएको प्रहरीको विशेष टोलीले सोही दिन साउन २८ गते बेलुका १८ः ३० बजे काठमाडौँ नागार्जुन नगरपालिका(५ छगडोलबाट पीडित रायाको सकुशल उद्धार गरेको छ। उद्धारसँगै घटनामा संलग्न सातै जना अपहरणकारीलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोसी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ फापरबारीका २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुङ्गा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदिप पोखरेल र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देव कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ परेका सबै जनामाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिएका छन्।