नक्कली श्रम स्वीकृति बनाएर ठगी गर्ने एक जना सिनामंगलबाट पक्राउ
नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-९ बस्ने कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुल रहेका छन्।
रसुलले वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँबाट प्रदान गरिने श्रम स्वीकृतिको नक्कली अनुमति पत्र बनाएका थिए। उक्त नक्कली कागजात देखाएर पीडितसँग २ लाख ५५ हजार रुपैयाँ लिई ठगी गरेको अभियोग उनमाथि छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका-९ स्थित सिनामंगलबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका रसुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।