भोटेकोशी बाढीपछि विद्युत् आपूर्ति सुचारु गर्न प्राधिकरणको मर्मत तीव्र
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।
बुधबार आएको बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको जनाएको छ। विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधिमार्फत तत्काल विद्युत् सेवा उपलब्ध गराउन आवश्यक संयन्त्र परिचालन गरेको छ।
प्राधिकरणले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न प्रयास भइरहेको जनाएको छ।