गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ । अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो ।
योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् । प्रेस रजिष्ट्रारको कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सेवा सुरु गरेको उनको भनाइ छ ।
“प्रसारण संस्था नवीकरणको प्रमाणपत्र पनि अनलाइनबाटै उपलब्ध हुन्छ, कार्यालयबाट पनि प्रमाणपत्र लिन सकिन्छ”, रजिष्ट्रार भण्डारीले भनिन्, “अनलाइन सेवाले रेडियो टेलिभिजनको दर्ता र नवीकरणका लागि समय र खर्चको बचतसँगै प्रशासिनक झण्झट पनि कम हुनेछ ।”
प्रेस रजिष्ट्रार भण्डारीले प्रसारण संस्थाको इजाजत पत्रको नवीकरणका लागि कार्यालयमा सम्पर्क गर्न र राजस्व पनि प्रदेशमै बुझाउन आग्रह गरिन् । उनले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण पनि प्रदेशबाटै हुने नीतिगत व्यवस्थाका लागि प्रदेश समस्या समाधान समितिको बैठकमार्फत सङ्घ सरकारसमक्ष अनुरोध गरिएको बताइन् ।