निर्मल पुर्जाको निधनप्रति बेलायतका युवराज विलियमद्वारा श्रद्धाञ्जली
काठमाडौं — पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा प्रति बेलायतका युवराज विलियमले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्स (X) मार्फत सन्देश जारी गर्दै युवराज विलियमले निर्मल पुर्जाको निधनको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले हिमपहिरोमा ज्यान गुमाउने अन्य आरोहीहरूप्रति समेत समवेदना प्रकट गरेका छन्।
युवराज विलियमले निर्मल पुर्जाले बेलायती सशस्त्र बलमा उत्कृष्ट सेवा गरेपछि विश्वकै महान् पर्वतारोहीमध्ये एकको पहिचान बनाएको उल्लेख गर्दै नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा चिनाउन उनको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
उनले असम्भवजस्ता देखिने लक्ष्य पछ्याउने साहस, विनम्रता र निस्वार्थ भावनाले निर्मललाई विशिष्ट बनाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
निर्मल पुर्जाले १६ वर्ष बेलायती सेनामा सेवा गरेका थिए। गोरखा रेजिमेन्ट हुँदै रोयल मरीनको स्पेशल बोट सर्भिस (SBS) सम्म पुगेका उनले सेनाबाट अवकाशपछि पर्वतारोहणमा सक्रियता बढाएका थिए। सन् २०१९ मा उनले विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए।
उनको साहसिक यात्रामा आधारित नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ ले उनलाई विश्वभर चिनाएको थियो।
निर्मल पुर्जाले सह–स्थापना गरेको एलिट एक्सपिडले विज्ञप्ति जारी गर्दै ब्रोड पिक हिमपहिरोमा उनको निधन भएको पुष्टि गरेको थियो। दुर्घटनामा उनका आरोहण सहयात्री पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको जनाइएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार ब्रोड पिक दुर्घटनामा बेपत्ता भएका १० जना आरोहीमध्ये कोही पनि जीवित फेला परेका छैनन्। निर्मल पुर्जाको निधनपछि नेपालसहित विश्वभरका पर्वतारोही, राष्ट्र प्रमुख, खेलकर्मी र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।