भोटेकोसी बाढीमा ९५ जनाको शव फेला, ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
काठमाडौं — भोटेकोसी बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार साँझसम्मको क्षतिको विवरण सार्वजनिक गर्दै बाढीबाट ९५ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।
सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै क्षतिको थप विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।