सप्तरीमा कर्फ्यु हटाइयो, राजविराज र बोदेबरसाइनमा निषेधाज्ञा लागू
सप्तरी — जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि दुवै क्षेत्रमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको हो।
निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी आदेशको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ जमुनी–थलही, उत्तरतर्फ बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा क्षेत्र तोकिएको छ।
यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गरेको छ।