टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु
काठमाडौं । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ।
प्रशिक्षण तथा सैन्य कारबाहीका क्रममा हेलिकप्टर बेल काउन्टीको सालाडो नजिकै एक खेतमा दुर्घटनाग्रस्त भएको अमेरिकी सेनाले जनाएको छ। दुर्घटनापछि दुवै सैनिकको शव फोर्ट हुडस्थित कार्ल आर. डार्नल आर्मी मेडिकल सेन्टरमा लगिएको छ।
दुर्घटनाका क्रममा घाँसे मैदानमा आगलागी भए पनि अन्य व्यक्ति वा संरचनामा क्षति नभएको अधिकारीहरूले बताएका छन्। हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
फोर्ट हुडले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतक सैनिकको पहिचान र दुर्घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने सेनाले जनाएको छ।