नयाँ नेतृत्वपछि नेपाल वायुसेवा निगममा सुधारको संकेत, आम्दानी र सिट उपयोगिता बढ्यो
काठमाडौं — नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै व्यवस्थापकीय सुधार र सञ्चालन प्रभावकारितामा सुधार देखिन थालेको जनाएको छ।
निगमका अनुसार नयाँ सञ्चालक समिति गठन र कार्यकारी नेतृत्व परिवर्तनपछि आम्दानी वृद्धि, सिट उपयोगिता सुधार तथा सेवा व्यवस्थापनमा सकारात्मक प्रभाव परेको हो।
गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच स्वतन्त्र सञ्चालक र मन्त्रालयका दुई प्रतिनिधिसहित सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि गत असार ३० गते मन्त्रिपरिषद् निर्णयबाट हवाई क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको थियो।
जिम्मेवारी सम्हालेपछि श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गर्दै संस्थागत सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।
निगमका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यस वर्षको असारमा आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको छ। यस्तै, सिट उपयोगिता पनि ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशत पुगेको निगमले जनाएको छ।
निगमले उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी प्रयोग, अनावश्यक खर्च नियन्त्रण तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
कार्यकारी अध्यक्ष श्रेष्ठले निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी दिनमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता र वित्तीय अनुशासन सुधारलाई निरन्तरता दिने निगमको योजना छ।