गोलबजारमा उपभोग्य सामग्री खरिदका लागि दुई घण्टा कर्फ्यु खुकुलो
सिरहा जिल्ला प्रशासन कार्यालयले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दिउँसो दुई घण्टाका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषण तथा आम सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनमा सहजताका लागि आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म कर्फ्यु खुकुलो गरिएको हो।
प्रशासनले गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवतजावत सहज बनाउन सुरक्षा निकायलाई आवश्यक सहजीकरणको निर्देशन दिइएको जनाएको छ।
कर्फ्यु खुकुलो पारिएको अवधिमा पनि ५ जनाभन्दा बढीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नहुँदासम्म जारी निर्देशनको पूर्ण पालना गर्न प्रशासनले सबैलाई अनुरोध गरेको छ।