सिरहामा ४९ किलोभन्दा बढी गाँजा बरामद
सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।
शुक्रबार बिहान करिब ३:२२ बजेको समयमा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकललाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालकले सवारी छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि मोटरसाइकलमा रहेको बोरा जाँच गर्दा ४९ किलो ७६० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरी नम्बर ७ हेडक्वार्टर सिरहाका प्रमुख सुमनजङ्ग थापाले जनाएका छन्।
सशस्त्र प्रहरीले बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ। फरार भएका मोटरसाइकल चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।