बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सरकारका आफुसंगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्गप्रसस्त गर्ने निर्णय लिएको उनले बताए ।
उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदैसँगै यात्रा गरेका सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नुपरेको र त्यसले आफूलाई दुःख लागेको बताए।
उनले सहयात्रीहरूले समर्थन फिर्ता लिएपछि विश्वासमा संकट पैदा भएको र त्यस्तो अवस्थामा मुख्यमन्त्रीको कुर्सीमा बसिरहन उपयुक्त नहुने उल्लेख गरे ।
विश्वासको मत लिनुको सट्टा छोडेर जाने दलहरूलाई मिलेर नयाँ सरकार बनाउन वा अगाडि बढ्नका लागि मार्गप्रशस्त गरिदिएको उनले बताए । सो क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।
एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका थिए । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले राजीनामा दिएका हुन् ।