घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला
बारा — कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले रातभर खोजतलास गरी सकुशल फेला पारेको छ।
कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घरअगाडिबाट हराएकी थिइन्।
बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा घटनाबारे जानकारी गराएपछि प्रहरीले तत्काल खोजी सुरु गरेको थियो।
बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूह बनाएर टोली परिचालन गरेको थियो। खोजी अभियानलाई तीव्र बनाउन कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।
प्रहरीका अनुसार खोजीका क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित बाटोबाट बालिकालाई सकुशल फेला पारिएको हो।
फेला परेकी बालिकालाई आइतबार बिहान ११ बजे उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।