नवलपरासीमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ।
गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिरनजिक अचेत अवस्थामा भेटिएका बागलुङकी ३८ वर्षीया कविता राई र भोजपुरकी करिब ४५ वर्षीया कान्छी राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सूचना पाएपछि पुगेको प्रहरी टोलीले दुवै महिलालाई उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्याएको थियो। तर चिकित्सकले उपचारका क्रममा दुवैलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेको प्रहरीले जनाएको छ। मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।