वैभव सूर्यवंशी बने अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कान्छा ‘प्लेयर अफ द सिरिज’
भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कान्छा ‘प्लेयर अफ द सिरिज’ विजेता बनेका छन्।
जिम्बाब्वेविरुद्धको तेस्रो टी–२० खेलमा भारतले ३५ रनको जित निकाल्दै शृङ्खला ३–० ले क्लिन स्विप गर्दा १५ वर्षीय सूर्यवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
१५ वर्ष १२१ दिनको उमेरमा यो उपलब्धि हासिल गर्दै सूर्यवंशीले अफगानिस्तानका मुजिब उर रहमानको कीर्तिमान तोडेका छन्। यसअघि रहमानले १६ वर्ष ३२८ दिनको उमेरमा ‘प्लेयर अफ द सिरिज’ जितेका थिए।
हरारेमा भएको तेस्रो खेलमा सूर्यवंशीले ४९ बलमा ८१ रन बनाएर ‘प्लेयर अफ द म्याच’ समेत जिते। उनले सचिन तेन्दुलकरको १७ वर्ष ११२ दिनको उमेरमा बनाएको कीर्तिमान पनि तोडेका छन्।
शृङ्खलामा सर्वाधिक १५१ रन बनाएका सूर्यवंशीले यस वर्ष टी–२० क्रिकेटमा ८६ छक्का प्रहार गर्दै भारतीय ब्याटरमध्ये शीर्ष स्थानमा रहेका छन्।